यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) उनीविरुद्ध एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा मुद्दा दायर गरेको हो । भट्टराईले सरकारी अहोदाको दुरुपयोग गरी सम्पति कमाएको आरोपमा अख्तियारले मुद्धा दायर गरेको हो ।

उनी सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न माग गरेको छ ।

प्रतिक्रिया