रोहितको उत्कृष्ट पारीसँगै नेपालले दियो कुवेतलाई २८२ रनको लक्ष्य


काठमाडौं – एसीसी प्रिमियर लिग अन्तर्गतको सेमिफाइनलमा खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ ।

कप्तान रोहित पौडेलको उत्कृष्ठ पारीसँगै टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित हुँदा ४२ ओभरको खेलमा ९ विकेट गुमाएर २८१ रन बनाउँदै कुवेतलाई फाइनल प्रवेशका लागि २८२ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि कप्तान रोहितले ९४ रनको उत्कृष्ट कप्तानी पारी खेले । उनी शतकबाट जम्मा ६ रन पछाडी रहे ।

उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई टिमको स्कोर ७७ रन हुँदा गुमाएको थियो । भुर्तेलले ३९ बलमा ४३ रन बनाएर आउट भए ।

त्यसपछि नेपालका भीम सार्की १ रन बनाउँदै आउट भएका थिए । त्यसलगत्तै अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख व्यक्तिगत ३१ रन बनाउँदै टिमको स्कोर ८० रन हुँदा आउट भए । ७७ रन बनाउँदा कुनै विकेट नगुमेको नेपालले ८० रन बनाउँदा ३ विकेट गुमाएको थियो ।

त्यसपछि नेपालको पारी कुशल मल्ल र कप्तान रोहित पौडेलले सम्हाले । कुशल मल्ल विस्फोटक ४४ बलमा ५७ रनमा आउट भए ।

त्यसपछि आरिफ शेख १९ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी शुन्य रनमै आउट भए । यसअघिको खेलमा उत्कृष्ट ब्याटिङ गरेका सन्दीप लामिछाने ५ रनमा आउट भए ।

त्यसपछि सोमपाल कामी र रोहित पौडेलले अन्तिममा उत्कृष्ट पारी खेल्दै टिमको स्कोर २७१ सम्म पुर्याए । टिमको स्कोर २७१ रन हुँदा कप्तान पाैडेलले ९४ रन बनाएर विकेट गुमाए ।

सोमपाल १३ रनमा नटआउट रहे । करण केसीले ७ रन बनाएर बाहिरिँदा ललित राजवंशीले २ रन बनाए ।

कुवेतका लागि मोहम्मद अस्लामले ३ विकेट लिए भने अदनान इद्रिसले पनि ३ विकेट लिए । त्यस्तै यसिन पटेल र सायद मोनिले १/१ विकेट लिए ।

प्रतिक्रिया