

न्युजिल्याण्ड पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइ दिनेभन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ३ पुछार बजारका ३८ वर्षीय हरिजंग गुरूङ रहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले उजुरीका आधारमा खोजतलास गर्ने क्रममा टोखा नगरपालिका ६ बानियाँटारबाट पक्राउ गरेको जानकारी दिए।
गुरूङ राजेश श्रेष्ठसमेत पीडितलाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइ दिने र त्यहाँ प्रतिष्ठित होटलमा रोजगारी लगाइ दिने भन्दै ५ लाख बढि रकम लिएर फरार रहेका थिए।
उनी फरार रहेको थाहा पाएपछि पीडितले वैदेशिक रोजगारीमा उजुरी दिएका थिए। पक्राउ परेका गुरूङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग पठाइएको प्रहरीले जनाएको छ।

