ए डिभिजन लिग : मछिन्द्र र खुमलटारको जित


काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक एक गोल गरे ।

खेलको ४५ औं मिनेटमा ग्याल्सेनले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले गोल गरेपनि मछिन्द्र २-१ ले विजयी भयो । मछिन्द्रको यो चौंथो जित हो । मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ। फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङलाई एफसी खुमलटारले २-१ गोल अन्तरले पराजित गर्यो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे ।

मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को जित दिलाए । खुमलटारको यो चौंथो जित हो । खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ । मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया