प्रचण्डअघि नै सरकारी निर्णयमाथि नेता नेपालको धावा ‘निर्णय फिर्ता लिऊ’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमति नागरिकको उपचार नगर्ने भन्ने सरकारी निर्णय फिर्ता लिन चेतावनी दिएका छन् ।

नेपालले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्,‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ ।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डअघि नै नेपालले सरकारको निर्णयमा असहमति जनाउँदै जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो ।’

संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन नेपालले माग गरेका छन् ।

प्रतिक्रिया