
राजश्व हिनामिना अभियोगमा मालपोत प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – मालपोत कार्यालय पर्सामा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व रकम हिनामिना गर्ने तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्सामा आ.व. २०७२/२०७३ मा जग्गा किनवेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायबमोजिमका कर्मचारीहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलले मालपोत कार्यालय पर्सामा दैनिक लिखत रजिष्ट्रेशन पारित हुँदा राजस्व वापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी आ.व. २०७२÷२०७३ को निजको कार्यकालमा संकलन भएको राजस्व रकममध्ये ९३ लाख ६६ हजार २०९ राजस्व हिनामिना गरेको आरोपत्रमा उल्लेख गरिएको छ ।
यस्तै मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माले मालपोत कार्यालय पर्सामा दैनिक लिखत रजिष्ट्रेशन पारित हुँदा राजस्ववापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी आ.व. २०७२। ०७३ को निजको कार्यकालमा संकलन भएको राजस्व रकममध्ये एक लाख ४१ हजार ८२५ रुपैंयाँ राजस्व हिनामिना गरेको हुँदा सो रकम रकमको दोब्बर जरिवाना मागदावी गरिएको छ ।
यस्तै तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ताले संकलन भएको राजस्व रकममध्ये ९५ लाख आठ हजार चौतिस रुपैंयाँ रजश्व रकम हिनामिना कसुरमा दोव्वर जरिवाना मागदावी गर्दै मुद्दा दायर गरिएको छ । यस्तै कार्यालयका तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीले संकलन भएको राजस्व रकममध्ये ९५ लाख आठ हजार ३४ रुपैंयाँ हिनामिना गर्नमा प्रतिवादी मदनप्रसाद गुप्तालाई मद्दत पु¥याएको देखिएकाले सो रकमको दोव्वर जरिवाना मागदावी गर्दै मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।



कागजपत्र |
