महासंघ एशोसिएट कार्यकारिणी सदस्यमा ढकालको उम्मेदवारी

साना तथा मझौला र ठूला व्यवसायीबीच पुलको भूमिका निर्वाह गर्छुः ढकाल


काठमाडौं – आसन्न नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिमा एशोसिएट कार्यकारिणी सदस्यमा व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन् । निजी उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुन गइरहेको ५७औं वार्षिक साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचनका लागि ढकालले एशोसिएट कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।

लामोसमयदेखि महासंघका विभिन्न कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेको ढकालले युवाहरुको पनि भूमिका महासंघमा निर्णायक हुनुपर्ने अभिप्रायःले उम्मेदवारी दिएको बताए । महासंघको दुई राष्ट्रिय ९वाइ नेसन फोरम० समितिमा रहेर काम गरिसकेका ढकाल साना तथा मझौला व्यवासायीबीच परिचित नाम हुन् । मुख्यगरी साना तथा मझौला व्यवसायीको आवाज उठाउनैका निम्ति उम्मेदवारी दिएको बताएका ढकालले ती व्यवसायीले जिडिपिमा करिव ४० प्रतिशत भन्दाबढी योगदान पुर्याएको उल्लेख गर्दै उनीहरुको आवाजलाई महासंघमार्फत राज्यको नीति निर्माणको तहमा पुर्याउने अठोट राखेको बताए ।

पछिल्लो समय खस्कँदै गएको अर्थतन्त्रबाट उद्योगी व्यवसायीहरु प्रत्यक्ष मारमा परेको जनाउँदै ढकालले अहिलेको तरल अवस्था, व्यापार घाटा, बैंकको व्याज वृद्धि, व्यवसायलाई दीगो र मर्यादित कसरी बनाउने भन्ने विषयमा आफू केन्द्रीत रहने बताए । उनी भन्छन्, ‘नेपाल सरकारका विभिन्न निकायमा लविङ गरेर समस्या समाधानतर्फ लाग्न सक्छु भन्ने अठोटका साथ मैले उम्मेदवारी दिएको छु । उद्योग वाणिज्य महासंघमा एशोसिएटतर्फ १७६२ कम्पनी दर्ता भएका छन् । सानादेखि ठुला व्यवसायीहरुसम्म सबैको प्रतिनिधित्व एशोसिएटले गर्छ । सबै पक्षको भावना, समस्या र अवस्था बुझेर अगाडि बढ्न सकेमा मात्र एसोसिएटका साथै उद्योग वाणिज्य महासंघको गरिमा पनि बढ्छ भन्ने मलाई लाग्छ ।’

साथै ढकालले मुलुकको आर्थिक अवस्थालाई उकास्नका लागि साना, मझैला र ठूला व्यवसायीहरुले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउँदै आफू निर्वाचित भएको खण्डमा पुलको काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै ढकालले सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वयमा मात्रै मुलुकको समृद्धि सम्भव भएको बताउँदै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । ‘राज्यको अर्थतन्त्रलाई कसरी दीगो र बलियो बनाउन सकिन्छ र व्यवसायीलाई कसरी सक्षम र सफल बनाउन सकिन्छ भन्ने हिसावले काम गर्नका लागि मेरो उम्मेदवारी हो,’ उनले उम्मेदवारी बारे थप प्रष्ट पारे ।

उनले आफू एशोसिएसट कार्यकारिणी पदका लागि योग्य भएको दाबी गर्दै विदेशबाट हासिल गरेको ज्ञानलाई नेपालमा लागू गरि मुलुकमा कृषि, आइटी क्षेत्रलगायतका सम्भावना तथा सक्षम जनशक्तिलाई नेपालमा नै स्थापित गरी टेक्निकल हवका रुपमा विकास गर्नुपर्ने जनाउँदै महासंघको कार्यकारिणी समिति सदस्य पदका लागि मतको समेत अपेक्षा गरे ।

प्रतिक्रिया