


थ्री नेसन्स कपः उपाधिका लागि नेपाल र लाओस भिड्दै

काठमाडौं — प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल खेल आज शुक्रबार हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्दै छन् । फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
घरेलु समर्थकको साथ पाउने नेपाल आफु भन्दा तल्लो वरीयताको लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ ।
नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीस टोलीले उपाधि जित्नेमा आशावादी छन् ।
‘नतिजा प्राप्त गर्नु आवश्यक छ । हामी लाओससँग खेल्न शारीरिक र मानसिक रूपमा तयार छौं । फाइनल खेल उत्कृष्ट हुनेछ । फाइनल फाइनल हो त्यसैले यो महत्त्वपूर्ण छ र सबैजना तयार छन्,’ मुख्य प्रशिक्षक एनीसले प्रि-म्याच कन्फरेन्समा भनेका थिए ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । त्यस्तै नेपाल र भूटानबीचको खेल भने बराबरीमा सकिएको थियो ।
लाओस भुटानविरूद्ध जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

