

राजनीतिक चटारोबीच शिलान्यासकै लागि चितवन जाँदै प्रचण्ड

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जान लागेका छन् । सत्ता गठबन्धनको बैठकका साथै मन्त्रीपरिषद् विस्तारको कामलाई थाती राख्दै प्रचण्ड चितवन जान लागेका हुन् ।
चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।
‘पूर्वनिर्धारित कार्यक्रम भएकाले जान लाग्नु भएको हो । दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ’, सचिवालयले भन्यो ।
प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । यसबारे बुधबारकै बैठकमा लगभग सहमति बनेको नेताहरूको भनाइ छ।

