

बिमा रकम पाउन श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या!

जनकपुरधाम – सप्तरीमा बिमा रकम पाउन श्रीमानको हत्या गरेको घटना बाहिरिएको छ । कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले बिमा रकम पाउनकै लागि श्रीमान्को हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकर दासको मृत्यु भएको थियो । तर, घटनामा मृतकको श्रीमती कोशिला र देउरानी हिरनदेवी दासको संलग्नता रहेको बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
उनका अनुसार दुवैजनाले दासलाई करेन्ट लगाएर हत्या गरेका थिए । शिवशंकरको श्रीमती र नातामा भाउजू पर्ने शान्तिदेवी दासको सहयोगमा हत्या गरिएको उनले बताए ।
अहिले दुवैजना प्रहरी हिरासतमा छन् । उनीहरूले प्रहरीसमक्ष ऋण चुक्ता गर्न र छोरीको विवाह गर्ने दासको हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक रायले बताए ।
प्रहरीका अनुसार शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बिमा गराउनका लागि भाउजू नाता पर्ने शान्तिदेवीसँग ऋण लिएका थिए । ऋण चुक्ता गर्न शान्तिदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् । शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तिदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बिमा रकमबाट ऋण चुक्ता भएर अरू रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् ।
योजनाअनुसार कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् । मदिरा सेवन गरेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकैबेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाएको प्रहरीको भनाइ छ ।

