


संघीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताएका छन् ।
नेपाल समाजशास्त्र सङ्घ काठमाडौं र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ आयोजित ‘नेपालमा सङ्घीयता : अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा उनले भने, ‘सङ्घीयता स्थापनापछि प्रदेशमा एक सय ५० संरचना निर्माण गरी इतिहास कायम गरेको छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहुवर्षे आठ सय किलोमिटर सडक कालोपत्र भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्र हुने जानकारी दिए । नेपालका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै उनले सङ्घीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले सङ्घीयतामा संविधानले प्रत्याभूत गरेको अधिकार प्रदेशलाई दिनुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायी भएको धारणा राखे । उनले सङ्घीयताको उपलब्धिका रूपमा रहेको शान्ति, सुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार राखे । मुख्यमन्त्री कार्कीले भने, ‘केन्द्रले सङ्घीयता कार्यान्वयनमा उद्धार भएमा विकास, सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुनेछ ।’
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जनताले रोजगारी, समृद्धिमा सङ्घीयताको अनुभूति गर्न सक्ने धारणा राखे । समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले जनताको समावेशी समानुपातिक प्रतिनिधित्वले सङ्घीयता बलियो हुने विचार राखे ।

