

काठमाडौंमा लघुवित्त पीडितहरुको आन्दोलन

काठमाडौं – देशका विभिन्न जिल्लामा लघुवित्त संस्थाहरूले विपन्न नागरिकलाई ठगेर घर न घाटको बनाएको भन्दै त्यसविरुद्ध गठित पीडितहरूको संघर्ष समिति काठमाडौं छिरेको छ । ५० जिल्लाका लघुवित्तपीडितहरु आन्दोलनमा सहभागी रहेको जनाइएको छ ।
आज (मंगलबार) देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् । ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नेपाल’ को अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरूले राजधानीमा आन्दोलन शुरु गरेका हुन् ।
लघुवित्त संस्थाहरू खारेज गर्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनु पर्ने पनि उनीहरूले माग राखेका छन् । साथै विपन्न किसानहरूका ऋण मिनाहा गरिदिनु पर्ने उनीहरूले बताएका छन् । यस्तै विपन्नहरूलाई निःशुल्क (बिना ब्याज) ऋण उपलब्ध गराउनुपर्ने, लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका ९ बुँदे योजनासहितका माग उनीहरूले अगाडि सारेका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा लघुवित्त संस्थाहरूले विपन्न किसानलाई ठगी गरेका समाचार आएका छन् । यसअघि पनि लघुवित्तपीडितहरुले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका थिए ।

