

नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा माग गर्दै केन्द्रीय कार्यालय घेराउ र तालाबन्दी

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकै आइरहेका बेला नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ भित्रको विवाद चर्कँदै गइरहेको छ । नेविसंघ सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै असन्तुष्ट पक्षले आइतबार केन्द्रीय कार्यालय घेराउ गरेसँगै विवाद चर्किँदै गएको हो ।
अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा मागेका छन् । उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए ।
सभापति शेर्पाले आफूखुसी गरेको टिकट वितरणका कारण स्ववियु निर्वाचन प्रतिकूल बनेको र एकलौटीरूपमा चिठी बाँडेको काठमाडौं जिल्ला सहसचिव निश्चल महर्जनले बताए । उनले सभापति शेर्पाको राजीनामा र उनले पठाएका सबै नियुक्तिका पत्र फिर्ता हुनुपर्ने बताए ।
यसअघि शेर्पाको मनपरीको विरोध गर्दै दोलखा र मकवानपुरका नेपाली कांग्रेसका जिल्ला जिल्ला सभापतिहरुले पार्टी अध्यक्ष देउवालाई चिठी बुझाएका थिए ।
संगठनविस्तारको नाममा दुजाङले मनोमानी ढंगले संगठनमा लागिपरेका विद्यार्थीभन्दा अन्यलाई नै जिम्मेवारी तोक्दै पठाउँदै गरेका थिए । कतिपय विद्यार्थी नेताहरुले शेर्पाले स्ववियु निर्वाचनको टिकट वितरणमासमेत अन्यायपूर्ण कार्य गरेको बताएका छन् ।
स्ववियु निर्वाचन हुनलागेका धेरैजसो क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा भएका छन् ।

