


ट्राफिक कार्यालयले बुझायो सम्बन्धित धनीलाई २३ सवारीसाधन

काठमाडाैं – विभिन्न मितिमा हराएका २३ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बिहीबार) सवारीधनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० मोटरसाइकल र ३ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताएका छन् ।
यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनि ११६२ वटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३५३ वटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये आजको २३ ओटा सहित ३२८ वटा दुईपाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको छ ।
यसै फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ वटा मोटरसाईकल सहित नियन्त्रणमा लिएका२६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा बुझाइएको छ । अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको छ ।
यस्तै यहि आर्थिक वर्षमै धनी नखुलेका ९५ वटा दुई पाङ्गे सवारी साधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाईएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ वटा सवारी साधन बुझाइएको हो ।
सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनि स्वंयमले पनि आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगाएत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नको लागी पनि ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक काफ्लेले अनुरोध समेत गरेका छन् ।

