सडकमा ‘एमसीसी मुर्दावाद’ भन्दा प्रचण्ड तर्किनुको कारण यस्तो छ


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको दिशामा अघि बढ्नु र प्रतिनिधि सभा विघटनको अवस्थाको एउटा कारण अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता टेबुल नहुनुलाई मानिएको छ।

जनतामाझ राजनीतिक अनेक कोणबाट यस मुद्दालाई व्याख्या गरे पनि अमेरिकी उपस्थितिको रणनीतिअनुसार नै नेपालको राजनीतिक अवस्था तरल भएको कतिपयको ठम्याई छ।

यहि विषयले नेकपाभित्र पनि ठूलो विवाद ल्याएको थियो। एमसीसी पास गर्ने कि नगर्ने भन्ने नेकपाको आन्तरिक विवादकाबीच झलनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन बुझाउँदै परिमार्जन गर्न भनेको थियो, जुन कुरालाई अमेरिकाले स्वीकार गरेन। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जस्ताको तस्तै पारित गराउने पक्षमा थिए भने प्रचण्डले पनि परिमार्जनसहित पारित हुन सक्ने बताइरहेकै थिए।

अहिले नेकपाभित्रको आन्तरिक विवादको मुख्य कारणका रुपमा रहेको एमसीसी स्वीकार गरी मिलेर जानका लागि अमेरिकाले आन्तरिक रुपमा लविङ गरिरहेको तथ्य पनि सतहमा आएका हुन्। प्रतिनिधि सभा विघटन भएपछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानमन्त्री ओली र प्रचण्डसँग अलग–अलग भेट गरी एमसीसीमा सकारात्मक हुनका लागि भनेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनको सन्देशका पुराउने विषयमा बालुवाटार र खुमलटार पुगेका उनले एमसीसीलाई नै केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने अमेरिकी इच्छा सुनाएका थिए। यसमा प्रचण्डले आफू सकारात्मक रहेको तर ओली सरकारबाट त्यो पार नलाग्ने र अहिलेको अवस्था सदन नै नरहेको भनी जवाफ पनि दिएका थिए। प्रधानमन्त्री ओलीले भने एमसीसी पास गराउन नसकेका कारणले सदन भंग गरेको भनेका थिए।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सदन विघटनको विषय एमसीसीसँग जोडिएका कारणले नै सरकारविरुद्ध आन्दोलनमा जान हिचकिचाएको बताइन्छ।

जब प्रचण्ड तर्किए

हालै मात्र अमेरिकी कुटनीतिक नियोगका प्रमुखसँग एमसीसीमा सकारात्मक रहेको बताएका प्रचण्ड विहीबार भने आफैंले घोषणा गरेको आम हड्तालका लाग सडकमा तामझामसहित उत्रिए। पुल्चोक पुगेका उनलाई देख्नासाथ कार्यकर्ताले नारा लगाउन थाले– प्रतिगमन मुर्दावाद, एमसीसी मुर्दावाद। तर, उनले कार्यकर्तालाई एमसीसीविरुद्धको नारा नलगाउन आग्रह गरे। उक्त नारा नलगाउनका लागि नेत्री पम्फा भुसाललाई पनि सुझाएको भिडिओ नै बाहिर आएको छ। यद्यपि, जोसमा आएका कार्यकर्ताले नारा लगाउन छाडेनन्। अनि, प्रचण्ड तर्किए।

‘अहिलेको आन्दोलनको मुख्य कारण एमसीसी रहेको र प्रचण्डले राजनीतिक रुपमा नै ओलीविरुद्ध भयानक आन्दोलन हुने घोषणा गर्नु र एमसीसीविरोधी नारा सुन्न नसक्नु, बोल्न नलगाउनुको आन्तर्य जोडिएको छ’, उच्च स्रोतले भन्यो,‘उनी अहिले अमेरिकी लविङमा एमसीसीमा सकारात्मक रहेको भन्दै हिन्दू धर्म सापेक्षता आउन लागेको र त्यसलाई रोक्न सहयोग गर्नुपर्ने कुटनीतिक मागमा रहेका छन्।’

नेकपाको प्रचण्ड खेमाको आन्दोलनमा एमसीसी अघि भारतीय हस्तक्षेपको माग प्रचण्डको रहेको थियो। तर, भारतीय जनता पार्टीको सरकारले उनको हस्तक्षेपको मागलाई वास्ता गरेको छैन। यहाँसम्मकी भारतले अहिलेसम्म नेपालको प्रतिनिधि सभा विघटनको विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन बरु, यो नेपालको आन्तरिक मामला भएको बताएको छ।

प्रचण्डले भारतीय सहयोगका लागि नेपालसँग नजिक रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास मानिने भगतसिंह कोसियारीसँग कुरा गर्न चाहेका थिए। तर समय नपाएपछि उनी पश्चिमा लविङमा लागेको उच्च स्रोतको दाबी छ। भारतले भने अहिले ओलीले नेपाललाई हिन्दूत्वको पक्षमा उभ्याएकोमा संस्थापनलाई नै सहयोग गरेर जाने संकेत देखाएको छ।

प्रतिक्रिया