

वनभोज खान गएका बुडालको रहस्यमय मृत्यु, १२ जना नियन्त्रणमा

बैतडी – वनभोज खान गएका बेला चमेलिया नदीमा मृत भेटिएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत दशरथचन्द नगरपालिका–१० का जीवन बुडालको हत्या भएको हुन सक्ने भन्दै आफन्तले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि १२ जनालाई नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएको १२ जना वनभोजमा संलग्न भएको प्रहरीले जनाएको छ। ‘मृतकसँग वनभोजमा गएका ११ जना र एकजना सवारीचालक गरी १२ जनालाई नियन्त्रणमा लिएका छौँ,’ बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले भने।
दरशथचन्द नगरपालिका–१० खडेनीका बुडाल गत शनिबार चमेलिया नदीको दोगडाकेदार गाउँपालिका–४ जाडाबगड भन्ने ठाउँमा साथीहरूसँग वनभोज गएका थिए। त्यही साँझ उनको लास फेला परेपको थियो। सँगै वनभोज गएकाहरूले जीवनको पौडी खेल्ने क्रममा बगेर मृत्यु भएको बताएका छन्।
घटनास्थलमा लासको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद भएको भन्दै वनभोज गएका सबैमाथि अनुसन्धानको माग गरेको मृतकका छिमेकी दाजु गोविन्दसिंह बुडालले बताए। मृत भेटिएका बुडालको बायाँ आँखामाथि र छातीमा घाउ भएको आफन्तले बताएका छन्।
दिउँसो १ बजे बेपत्ता भएको बुडालबारे साँझ ६ बजे मात्र खबर पुगेको प्रहरीले बताएको छ। प्रहरीले उनको खोजी गर्दा वनभोज स्थलभन्दा केही टाढा नदीमा लास फेला पारेको थियो। सोमबार मृतक बुडालको पोस्टमार्टम गरिएको छ।

