

दोहोरो सुविधा लिने प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरुको मासिक पारिश्रमिक कटौती

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिइँदै आएको मासिक पारिश्रमिक कटौती गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो।
प्राज्ञहरुबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरुले सो निर्णय गर्नु परेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताए। उनले दोहोरो सुविधा लिएका आजीवन सदस्यहलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सृजनाशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि जानकारी दिए।
त्यस अवसरमा प्रतिष्ठानका पदाधिकारीहरुले आफूहरुले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरेका थिए। नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरुले नै यस्तो निर्णय लिएको पनि कुलपति राईले बताए।
हाल प्रतिष्ठानमा आजीवन सदस्य रहेकाहरुले ५१ हजार ४४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए। प्रतिष्ठानबाट वार्षिक करिब १ करोड २० लाख दोहोरो सुविधा लिने गरेकोमा यसलाई कटौती गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमा नै केही गरौं भन्ने भावना रहेको पनि प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी प्रतिष्ठानका परिषद सदस्यहरुको कार्य विभाजन पनि गरेको छ। जस अनुसार कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक ईतिहास विभागको जिम्मेवारी दिइएको छ।
त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य प्राज्ञ डा. मधुसुदन गिरी, दर्शन शास्त्र विभाग प्राज्ञ डा कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्य/काव्य विभागको जिम्मेवारी प्राज्ञ बाबा बस्नेत दिइएको छ।
प्राडा कौशिला रिसाललाई सामाजिक शास्त्र, प्राज्ञ हंसावती कुर्मीलाई अनुवाद, प्राज्ञ अमर न्यौपानेलाई साहित्य (गद्य), प्राज्ञ त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोश र व्याकरण), र सदस्य सचिव डा धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

