जनयुद्ध दिवसमा दिइएको विदाप्रति सत्ता साझेदार एमाले अध्यक्ष ओलीको आपत्ति


काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो?  भनि प्रश्न समेत गरे।

उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए।

ओलीले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई अबदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा चाहिँ सही होइन। सरकारले किन त्यो गर्‍यो ? आकस्मिक रूपमा त्यो किन गर्नुपर्‍यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्न पर्‍यो ? त्यो मैले पनि बुझेको छैन। यसले सम्झीसम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएकोजस्तो मात्रै लाग्छ मलाई। जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन। नेपाली जनतामा परस्परमा लड्न, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन। हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन र, भोलि पनि सम्भव छैन।’

प्रतिक्रिया