राष्ट्रपतिमा सहमतिका लागि महन्थजी उपयुक्त पात्र हो : देउवा


काठमाडौं – राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भएको छ ।

महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास लोसपा नेताहरु पुगेका हुन् ।

भेटपछि देउवा निवासबाट बाहिरिँदै लोसपा नेता शरदसिं भण्डारीले कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

देउवाको भनाई उद्धृत गर्दै पत्रकारसँग उनले भने, ‘महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौं । कांग्रेसले आधिकारिकरूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन । तपाईँ-हामी एलायन्समा छौं । सहमतिको परस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्डबाट बारम्बार राष्ट्रिय सहमति भनिरहेकाले अहिले बाहिर आइरहेको नाममा ठाकुर नै उपयुक्त भएको भण्डारीको जिकिर थियो ।

लोसपाका नेताले हिजो (मंगलबार) मात्र प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । भण्डारीले आफूहरू बालकोट पनि पुगेको जानकारी गराउँदै संसदमा रहेका सबै दलसँग आग्रह गर्ने जानकारी दिए ।

प्रतिक्रिया