

५ लाख बढी मुल्यको तस्करी कपडासहित अटो चालक पक्राउ

विराटनगर – विराटनगर महानगरपालिका-१३ स्थित जतुवा नहरबाट तस्करीको कपडा (कुर्ता–सलवार)सहित एक जना अटो चालकलाई प्रहरी बिहीबार दिउँसो पक्राउ गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले अटो चालक सुनसरीको बर्जु गाउँपालिका-३ का ४१ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले दिउँसो १२:३५ बजेतिर को २ ह १६३३ नम्बरको अटो पनि नियन्त्रणमा लिएको छ।
भारतबाट तस्करी गरेर ल्याएको कपडा लोड गरिएको अटो र चालकलाई नियन्त्रणमा लिइएको कार्कीले बताए। साथै १ लाख ३५ हजार ५ सय मूल्य बराबरको अवैध कपडा नियन्त्रणमा लिइएको उनको भनाइ छ।
बरामद गरिएको कपडा तथा नियन्त्रणमा लिइएको अटोसहित चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी कार्कीले दिए। कपडासहित अटोको भन्सार मूल्यांकन ५ लाख ३३ हजार ५ सय रुपैयाँ भएको छ।

