

विभागले माग्यो सिनोफार्मको आपत्कालीन प्रयोग अनुमतिको कागजात

काठमाडौँ – औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन अनुमतिका लागि कागजात पेस गर्न चीनको सरकारी कम्पनी सिनोफार्मलाई अनुरोध गरेको छ ।
करिब ३ लाख मात्रा खोप अनुदान सहयोगमा नेपाललाई दिने जनाएको चिनियाँ दूतावासले सोमबार यस विषयमा विभागसँग आपत्कालीन प्रयोग अनुमति प्रक्रियाबारे छलफल गरेको थियो । ‘आपत्कालीन प्रयोग अनुमतिका लागि ऐन–नियमअनुसारको कागजात पेस गर्न सोही छलफलमा भनेका छौं,’ विभागका महानिर्देशक भरत भट्टराईले भने ।
सिनोफार्मबाट उत्पादित ‘सार्स कोभ–२ भ्याक्सिन’ का लागि आपत्कालीन अनुमति माग गरिएको हो । विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको दाबी गर्दे दूतावासले करिब २ करोड ४० लाख जनालाई उक्त खोप दिइसकेको जनाएको छ ।
दूतावासका अनुसार खोपको प्रभावकारिता ७९।३४ प्रतिशत छ । यसले विश्वका १३ मुलुकमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ । विभागलाई सिनोफार्मले तेस्रो चरणको परीक्षण सफल भएको कागजात पेस गरेपछि खोपले नेपालमा अनुमति पाउनेछ ।

