आफ्नै गान र लोगो बनाउँदै तातोपानी गाउँपालिका


जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने भएको छ । गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र लोगो बनाउनका लागि एकमहिने सार्वजनिक सूचना जारी गरिएको छ ।

खुला प्रतिस्पर्धात्मक विधिबाट गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनले भने, ‘पालिकाको एउटै पत्रमा नेपाल सरकारको लोगो रहने गरी अर्काे छेउमा तातोपानी गाउँपालिकाको लोगो हुन्छ । लोगो र पालिका गान मौलिक हुनुपर्नेछ ।’

प्रतिक्रिया