कर्णालीमा हिमपात, जनजीवन कष्टकर


मुगु – मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ ।

लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा , खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत सोरुगाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रको जनजीवन कष्टकर बनेको हो ।

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन् ।

अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ । हिमपातसँगको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशु चौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए ।

बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् । लगायतको हिमपातले ताल्चा विमानस्थल पनि बन्द भएको छ ।

यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदे बालीको उत्पादनमा राम्रो हुनेमा कृषकहरू आशावादी छन् । विशेष गरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ ।

जुम्लामा हिमपात
जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका-४ का स्थानीयको घरको छतमा परेको हिउँ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय रावत, रासस  

प्रतिक्रिया