नेता पुनको स्वास्थ्यावस्था बुझ्न पूर्वप्रधानमन्त्री र मन्त्री सुमेरु अस्पतालमा


काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आज ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका हुन् ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि आज उपमहासचिव पुनलाई भेटगरी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका हुन् ।

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुगेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा उपचार गराएका थिए । जन्डिसबाट पीडित पुनको स्वास्थ्यावस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया