

नविकरण नगरेका वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने १० स्वास्थ्य संस्था खारेज

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्थाहरू खारेज गरेको छ । मन्त्रालयले गत पुस मसान्तसम्म नविकरण हुन सूचित गरेपनि नविकरणका लागि कागजात पेश नगरेका १० स्वास्थ्य संस्थाहरु खारेज गरेको हो ।
मन्त्रालयले खारेज गरेका स्वास्थ्य संस्थाहरूमा काठमाडौंको महाराजगञ्जस्थित सुधा हेल्थ एण्ड मेडिकल सेन्टर, र मेट्रो काठमाडौं अस्पताल, रानीवारीको पर्फेक्ट डायग्नोष्टिक सेन्टर, त्रिपुरेश्वरस्थित साउदी नेपाल मेडिकल सेन्टर, ललितपुर जावलाखेलस्थित अल्का अस्पताल, सातदोवाटोस्थित अल्का पोलिक्लिनिक, काठमाडौं पिंगलस्थानस्थित रिलायवल मेडिकल सेन्टर, जनकपुरमा रहेको अनुरोध पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर, झापाको गोदावरी डायग्नोष्टिक सेन्टर र कन्काई डायग्नोष्टिक सेन्टर रहेका छन् ।
मन्त्रालयले पुस मसान्तभित्र पाँच हजार दस्तुर बुझाई आवश्यक कागजातसहित नवीकरण गर्न व्यवसायीहरूलाई आग्रह गरेको थियो। मन्त्रालयले पुस मसान्तभित्र नवीकरणका लागि कागजात पेश गर्न विशेष कारणले नभ्याएका संस्थाहरूलाई कारण खुलाई १५ दिनभित्र निवेदन दिन पाइने सूचना सार्वजनिक गरेको थियो।
मन्त्रालयले तोकिएको समयभित्र नवीकरणका लागि कागजात पेश नगरेका र कागजात पेश गर्न नसकेको सम्बन्धमा दिएका निवेदनहरूलाई विशेषज्ञ समितिमा पेश गर्दा त्यसमा चित्त बुझ्दो जवाफ नरहेको भन्दै स्वास्थ्य संस्थाहरू खारेज गरेको हो।
साथै, मन्त्रालयले सूचीकरण खारेज भएका स्वास्थ्य संस्थालाई तत्काल आफ्नो धरौटी फिर्ता लैजान आग्रह गरेको छ। यसअघि वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुँदा राखेको तीन लाख धरौटीमा दुई लाख थप गरी पाँच लाख नगद धरौटी पुर्याउनु पर्नेमा उक्त धरौटी नराखेका तीन दर्जन स्वास्थ्य संस्थाको लाइसेन्स खारेज भएको थियो।

