

स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

सर्लाही – जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट १० लाख ४५ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा रकम फेला पारेको हो।
कार चालक काठमाडौं बागेश्वरी मनोहरा नपा–८ बस्ने वर्ष ३२ को प्रह्लाद चापागाईँ, कारमा सवार मनोहरा–२ बस्ने २७ वर्षीय सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
यस्तै प्रहरीले मलंगवा–२ नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडिबाट दुई लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत सीतामढी ग्राम पञ्चायत मढिया–३, तिलहंगीका १९ वर्षीय राहुल महतोलाई साइकलबाट आउँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

