

जसपा–नेकपा (एस)बीच एकता हुनुभन्दा पहिले मोर्चा बनाउने सहमति

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता हुनुभन्दा पहिले मोर्चा बनाउने सहमति भएको छ ।
दुई पार्टीबीच एकताका लागि हिजो भएको वार्तामा सो सहमति भएको हो । एकताका लागि केही समय लाग्ने भएका कारण छलफल गर्दै गर्ने र दुई पार्टीबीच मोर्चा बनाएर अगाडि बढ्ने सहमति भएको जसपाका वार्ता समिति सदस्य गोविन्द चौधरीले बताए ।
भोलि हुने वार्तामा दुवै पक्षबाट आआफ्नो पार्टीको तर्फबाट एजेण्डा प्रस्तुत गर्ने र त्यसमा एकएक विषयमा छलफल गर्दै जाने सहमतिसमेत भएको छ । एजेण्डामाथि छलफल गर्दा सरल र जटिल विषयवस्तु सूचीकृत गर्दै जाने, सहमति हुन सक्नेमा विषयलाई टुङ्ग्याउँदै जाने सहमति भएको जनाइएको छ ।
जुन विषयमा सहमति हुन सक्दैन, त्यसलाई जटिल विषयवस्तुमा सूचीकृत गर्ने र त्यसलाई शीर्ष तहबाट नै टुङ्गो लगाउने सहमति भएको छ ।

