

राहदानी वितरणमा देखिएको प्राविधिक समस्या हल भएको दावी

काठमाडौं – राहदानी विभागले राहदानी वितरणमा देखिएको प्राविधिक समस्या हल भएको जनाएको छ। आइतबार एक सूचना जारी गर्दै विभागले विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको जनाएको हो।
विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो। सेवा चुस्त दुरुस्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकलाई परिचालन गरेको थियो।
समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडीमीया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो। प्राविधिकले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हलगरेपछि सेवा सुचारु भएको हो। विभागले राहदानीको आवेदन दिएका आवेदकलाई मोबाइलमा म्यासेज पठाएपछि अथवा नेपाल इ पासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपनि राहदानी लिन विभाग आउन पनि आग्रह गरिएको छ।

