मलद्वारमा पेट्रोल छर्केर कामदारकाे हत्या


धनुषा – महोत्तरीको सम्सी गाउँपालिकामा एक मजदुरको निर्ममतापूर्क हत्या गरिएको छ । सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीलाई मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो ।

अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।

गएकाे बुधवार अन्सारीको मलद्वारमा आगो लगाएर उनलाई अचेत अवस्थामा उनकै घर अगाडि फालेर सलाम भागेका थिए । अचेत अवस्थामा रहेका अन्सारीकाे जानकी हेल्थ केयर जनकपुरधाममा उपचारका क्रममा ज्यान गएकाे हाे ।

अन्सारी मजदुरी गर्दै आएका थिए । सलामले अन्सारीलाई घरमै काम गर्नका लागि बोलाएका थिए । घरमा काम गरेबापत महिनाकाे १५ हजार रुपैयाँ पारिश्रमिक दिइने सहमति भएको थियो । इलाका प्रहरी कार्यालय गौशालाले सलामलाई घटना भएकै दिन पक्राउ गरेको थियाे । प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक पंगेनीले बताए सलाम लागुऔषध मुद्दामा पहिले पनि दुई पटक पक्राउ परिसकेका छन् । मृतकका भाइ समजदले दोषीमाथि कडा कारबाही हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग गरे ।

प्रतिक्रिया