प्रदेशमा संसदीय दलको नेता चयनका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादनको निर्देशन


काठमाडौं — नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीय दलको नेता चयन गर्न निर्देशन दिएको छ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सातै प्रदेशमा पार्टीका दल नेता चयन गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो।

साथै कांग्रेसले प्रदेशमा नयाँ सरकार बनाउन पहल थाल्न प्रदेश कार्यसमितिलाई निर्देशनसमेत दिएको छ। सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन र नभए अन्य दलसँग मिलेर सरकार बनाउनका लागि पहल थाल्न कांग्रेसले निर्देशन दिएको हो।

कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग नयाँ सरकार बनाउनेबारे छलफल थाल्न भनेको छ। साथै गठबन्धनभन्दा बाहिर रहेकाहरूसँग पनि छलफल अघि बढाउन कांग्रेसले प्रदेश कार्यसमितिहरूलाई आग्रह गरेको हो।

‘नेपाली कांग्रेसको विधान, नियमावली तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचनसम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देश गर्ने,’ केन्द्रीय कार्यसम्पादन समितिले आइतबार गरेको निर्णयमा भनिएको छ।

साथै प्रदेशहरूमा सकेसम्म पार्टीले नेतृत्व गर्ने गरी सरकार गठनको पहल थाल्न आग्रह गरिएको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेसले केन्द्रमा पनि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ। कांग्रेसले एकरदुई दिन भित्रमा संसदीय दलको नेता चयन गर्नेछ। राष्ट्रपतिले सरकार गठन गर्न पुस १० गतेसम्मको समय दिएकोले कांग्रेसले छिटो गरी संसदीय दलको नेता चयन गर्न लागेको हो।

प्रतिक्रिया