अर्जेन्टिना विश्वच्याम्पियन

पेनाल्टीमा ४-२ ले फ्रान्स पराजित


कतार – कतारमा जारी विश्वकप फुटवल–२०२२ अन्र्तगत आइतबार भएको फाइनल खेलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेसँगै विश्वकप फुटबलको २२ औं संस्करण समापन भएको छ ।

निर्धारित र थप गरिएकोमा समयमा ३–३ गोल भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा अर्जेन्टिनाका ४ खेलाडीले गोल गरे भने फ्रान्सका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

कतारको लुसेल रंगशालामा सम्पन्न फाइनल खेलमा पहिलो हाफको २१ औं मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेले पेनाल्टी एरियामा फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । त्यसपछि अर्जेन्टिनाका लियोनल मेसीले पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेसीले फाइनलमा यो गोल गरेसँगै क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका तीनै खेलमा गोल गरेका छन् ।

त्यसपछि खेलको ३५ औं मिनेटमा मेसीको पासमा डि मारियाले गोल गर्दै टिमको स्कोर दोब्बर बनाएका थिए । त्यसपछि खेलको पहिलो हाफमा कुनै गोल भएन ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि फ्रान्स खेलमा फर्कन सकेन र अन्ततः अर्जेन्टिनाले विश्वकप उपाधि हात पार्न सफल भयो । खेलको ७८ औं मिनेटमा फ्रान्सले पेनाल्टी पाएपछि त्यसको सदुपयोग गर्दै एम्बापेले टिमलाई २–१ को अवस्थामा ल्याइपु¥याए । त्यसलगत्तै एम्बाप्पेले फ्रान्सका लागि अर्को गोल गर्दै २–२ को अवस्थामा ल्याइपु¥याए । त्यसपछि निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।

अतिरिक्त थप गरिएको ३० मिनेटको पहिलो १५ मिनेटमा पनि कुनै गोल भएन । त्यसपछि अतिरिक्तसमयको दोस्रो हाफमा अर्जेन्टिनाले १ गोल गर्न सफल भयो । त्यसलगत्तै फ्रान्सले पेनाल्टी पायो । त्यस पेनाल्टीलाई गोलमा परिणत गर्दै एम्बाप्पेले विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दुर्लभ कीर्तिमान राख्न सफल भए । अतिरिक्त समयमा थप गरिएको ३ मिनेटमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुुटआउटमा गयो ।

पेनाल्टी सुटआउटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि अर्जेन्टिनाका कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्न सफल भए । त्यसपछि फ्रान्सका खेलाडीले हानेको पेनाल्टी अर्जेन्टिनाका किपरले रोके । अर्जेन्टिनाका खेलाडीले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । त्यसपछि पेनाल्टीका लागि आएका फ्रान्सका खेलाडीको पेनाल्टी बाहिरियो । र, अन्तिममा अर्जेन्टिनाका खेलाडीले पेनाल्टीमा गोल गर्दै देशका लागि तेस्रोपटक र मेस्सीका लागि पहिलोपटक विश्वकप उपाधि दिलाए ।

कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्सविरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका छन् । जारी विश्वकपमा सातौं खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका थिए ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । फ्रान्सले भने सन् १९९८ र २०१८ उपाधि जितेको थियो ।

प्रतिक्रिया