हुण्डीवालाको साथ दिँदा डीएसपी पौडेल कारबाहीमा


काठमाडौं – पद र पावरको दुरुपयोग गरी सुराकीलाई नै फसाएको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी देवी पौडेल कारवाहीमा परेका छन् । डिएसपी पौडेललाई प्रहरी प्रधान कार्यालयले कारवाहीस्वरुप प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा तानेको छ । डिएसपी पौडेल परिसरको मुद्दामा कार्यरत थिए । उनको ठाउँमा डिएसपी नरेन्द्र चन्दलाई पठाएको छ ।

७ असारमा महानगरीय अपराध महाशाखाले न्यूरोडको इलेक्ट्रोनिक्स पसलबाट १० लाख रकम लुटेको अभियोगमा परिसरका दुई घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दलाई पक्राउ गरेको थियो ।अनुसन्धानमा इलेक्ट्रोनिक्स पसलका मालिक बिकाश अग्रवाल हुण्डीका कारोबारी भएको खुलासा भएको थियो । तर, परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीको योजनामा डिएसपी पौडेलले हुण्डीवाला अग्रवाललाई जोगाएका थिए भने अग्रवालकै योजनामा हुण्डीको सुचना प्रहरीलाई दिने सुराकी भनिएका सहकारीका कर्मचारी सौरभ अधिकारी र रेणु श्रेष्ठविरुद्ध पनि डकैती मुद्दा चलाएका थिए ।

ईन्सपेक्टरबाट पाँच महिना अगाडी डिएसपीमा बढुवा भएका पौडेललाई एसएसपी ज्ञवालीको डिजाईनमा आकर्षक मानिने परिसरको मुद्दा फाँटको जिम्मा लगाइएको थियो । अपराध महाशाखाले पक्राउ गरेका परिसरका दुई घुमुवा मध्य विष्ट एसएसपी ज्ञवालीको बिषेश पात्र थिए । जसको देखावटी सम्बन्ध मामा भान्जाको थियो ।

एसएसपी ज्ञवालीलाई मामा भन्दै सम्बोधन गरेर मिशन जान खोजेका सिपाही हवल्दारसँग समेत बिष्टले पैसा असुल्दै आएका थिए । लुटपाट तथा डकैतीको आरोप लाघेका विष्ट र चन्द जिल्ला अदालतको आदेशले मुद्दा पुर्पक्षका लागि हाल थुनामा छन् । प्रहरीलाई राम्रो नियतले हुण्डीको सूचना दिने सहकारीका कर्मचारी अधिकारी र श्रेष्ठ पनि प्रहरीको बदनियतको कारण अहिले जेलको हावा खान अहिले बाध्य भएका छन् । उनीहरुलाई पनि जिल्ला अदालत काठमाडौंले मुद्दा पुर्पक्षको लागी थुनामा पठाएको छ । पीडित भनिएका विकास अग्रवाल सुनदेखि नक्कली नोटको कारोबार गर्ने भारतीय नागरिक निलेश सखिया र नेपालको बाराका इल्ताफ अन्सारीको सुनको कारोबारमा हुन्डीको रकम भित्र्याउने नाइके भएको अनुसन्धानका क्रममा खुलेको थियो ।

तर, २०७७ असार १३ मा काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन बरामदपछि इल्ताफ अन्सारी र निलेश सखिया पक्राउ परे । उनीहरुको छानबिन गर्ने क्रममा निलेशले विकास अग्रवालको नाममा हुन्डीमार्फत् ७ करोडसम्म रकम पठाएको खुलेको थियो । प्रहरीले आफ्नै सिपाही हवल्दारदेखि सूचना दिने दुई किशोर र किशोरीलाई डकैती मुद्दामा फसाउन निवेदक बनाएका विकास अग्रवालको नाममा सुन तस्करीका लागि हुन्डीको रकम आएको खुलेपछि उनलाई रातारात भगाइएको थियो ।

सहकारी प्रकरणमा जोगाउने क्रममा विकास अग्रवालबाट ठूलो रकम घुस लिएर निरीह प्रहरी र नागरिकलाई डकैती मुद्दा चलाइएको खुल्ने त्रासले उनलाई रातारात भगाइएको आरोप लागेको थियो । अहिले प्रहरीले उनै अग्रवाललाई फरार भनेर खोजीरहेको छ । तस्करीको नक्कली सुनको बारेमा अनुुसन्धान गर्दै जाँदा विकास अग्रवालको नाममा भारतबाट संजय पटेल र निलेश सखियाले ७ करोड रकम पठाएको खुलेपछि प्रहरी हाकिमहरुको घुस प्रकरण उजागर हुने देखेर रातारात अग्रवाललाई भगाइएको स्रोत बताउँछ ।

प्रतिक्रिया