छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलायो निर्वाचन आयोगले


काठमाडौं – निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई बोलाएको छ। राजनीतिक रूपमा विभाजित नेकपाका ओली पक्ष र माधव नेपाल–प्रचण्ड पक्षका ५–५ जनालाई छलफलका बोलाएको छ ।

बिहिबार आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र काट्दै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई बोलाएको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ताका लागि सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर हामीले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरेका छौं,’ श्रेष्ठले भने, ‘अध्यक्ष वा अध्यक्षले तोकेका ५ जनालाई शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।’

आयोगले अर्कै प्रयोजनका लागि भनेर बोलाए पनि अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ । यसअघि नेकपाको दुईवटै पक्षको दावी आयोगले नपुग्ने बताएको थियो ।

प्रतिक्रिया