काली खुनाको बलात्कार पछि हत्या !


दुर्गा उपाध्याय
कञ्चनपुर–
गत बुधबार बिहान १० बजे शुक्लाफाँटा–८ नौखरी मुक्त कमैया शिविर नजिक सुनवरा नदीमा एकजना महिलाको शव नदी किनारमा बालुवामा गाडीएको अवस्थामा भेटियो। स्थानीयले अघिल्लो दिन दिउँसोदखि हराएकी सोहि मुक्त कमैया शिविरकी ३५ वर्षीय काली खुनाको खोजी गर्ने क्रममा नदी किनारमा बालुवामा गाडीएको अवस्थामा शव भेटेका हुन्।

मंगबार दिउँसोको समयमा १३ वर्षीय छोरा जनक र देवर मानसिंह सँगै नदीमा माछा मार्न गएकी कालीदेवि खुनाको भोलीपल्ट बालुवामा गाडीएको अवस्थामा शव फेला परेको हो। उनलाई आफ्नै देवर मानसिंहले मारेर बालुवामा गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

के के भएको थियो त्यो दिन
कालीदेवि झण्डै एकवर्षदेखि शुक्लाफाँटा–८ नौखरी मुक्त कमैया शिविरमा देवर देउरानी र सासुसँगै बस्दै आएकी थिइन। उनका श्रीमान मजदूरीका लागि भीमदत्त नगरपालिका–१५ गोवरैयामा दिदीको घरमा बस्दै आएका थिए। उनका १३ वर्षीय एक छोरा र करिब १० वर्षकी एक छोरी पनि लामो समयदेखि गोबरैयामा नै बस्ने गर्थे। जनक केहिदिन अघि मात्रै आमालाई भेट्न घर गएका थिए। मंलगबार उनी छोरा (जनक) र देवर (मानसिंह) सँग माछा मार्न सुनवरा नदीमा गइन्। माछा मार्दै गर्दा मानसिंहले भतिजा ९जनक० लाई नदीको अलि पर (माथीपट्टी) माछा मार्न भन्दै उतैबाट घर जान भने। काकाको आग्रहपछि त्यहाँबाट गएका उनी उतैबाट घर फर्किए।

‘काकासँग आमा नआएपछि उसले आमा खोइ भन्दै मामासँग सोधे छ,’ जनककी दिदी ज्योती खुनाले ९फुपुकी छोरी०ले भनिन, ‘मामाले तेरो मम्मी त अघिनै आइसकिन भनेछन्। त्यसपछि साँझसम्म माइजु घर नआउदा मामाले नै भाउजु हराइन भन्दै गाउँमा खोज्दै हिडेछन्।’

उनले राती पनि कालीदेवि घर नफर्किएपछि गाउँलेहरुले भोलिपल्ट बिहानै उनका छोरा जनकलाई लगेर माछा मारेको ठाउँमा खोज्न गएछन्। त्यहाँ गएर हेर्दा नदी किनारमा वालुवाको ढिस्को जस्तो देखिएपछि स्थानीयले हेर्दा बालुवामा गाडीएको अवस्थामा खुट्टाको औला देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कसरी भयो कालीदेवि खुनाको हत्या
स्थानीयले खबर गरेपछि प्रहरीले खाल्डोबाट शव झिक्दा अर्ध नाङ्गो अवस्थामा शव भेटिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए। उनले मृतकका छोराले काका समेत सँगै माछा मार्न गएको बताएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरायसी विवादका कारण भाउजुको हत्या गरेको स्वीकार गरेको बताए।

‘हामीले खाल्डोबाट शव झिक्दा अर्धनग्न अवस्थामा भेटेयौ, त्यसपछि मृतकका देवरसँग भाउजुको सुरुवाल कता छ भनेर सोध्दा उनले त्यो ठाउँ बताए,’ उनले भने, ‘उनले दिएको लोकेशनको आधारमा खोज्दै जादा लुगा फेला पर्यो, त्यसबाट घटनामा उनकै हात छ भन्ने पुष्टि हुन्छ।’

उनका अनुसार मानसिंहले भतिजोलाई माछा मार्न माथी पठाएर भाउजुको घाँटी समातेर पानीमा डुवाएको देखिन्छ। ‘अहिले हेर्दा टाउको पानीमा डुवाएकाले श्वास फेर्न नसक्दा उनको ज्यान गएको जस्तो देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी के रहेछ भन्ने खुल्छ।’

बलात्कारपछि हत्या भएको परिवारको आशंका
प्रहरीले कालीदेविको श्वासप्रश्वासका कारण ज्यान गएको हुनसक्ने बताएपनि परिवारले भने उनको बलात्कारपछि हत्या भएको आशंका गरेको छ। मानसिंहले यसअघि समेत भाउजुमाथी पटक पटक बलात्कारको प्रयास गरेको आफन्तको आरोप छ।

परिवारका अनुसार उनको शरिर अर्धनग्न अवस्थामा थियो भने टाउका तथा शरिरका विभिन्न भागमा चोट लागेको थियो। साथै गुप्ताङमा समेत लठ्ठी घुसारिएको अवस्थामा शव भेटिएकाले बलात्कार गरेको कुरा बाहिर आउने डरले भाउजुको हत्या गरेको हुनसम्ने परिवारको अनुमान छ।

प्रहरीले भने त्यसबारे अहिले नै बताउन नसकिने जनाएको छ। ‘यसअघि पनि पटक पटक बलात्कार गर्ने गरेको भन्ने सुनिएको छ, कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमर थापाले भने, ‘तर त्यहि कारणले हत्या भएको हो भन्न सकिने अवस्था छैन, शवको पोष्टपार्टम गरिएको छ, रिपोर्ट आएपछि मात्रै त्यसबारे खुल्छ।’

सामायन्तया कञ्चनपुरमा भएका घटना तथा दूर्घटनाका मृतकहरुको महाकाली अस्पतालमा पोष्टमार्टम गर्ने गरिएपनि कालीदेविको भने सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको थियो। प्रहरीले घटनाको संवेदनशिलतालाई मध्यनजर गर्दै पोष्टमार्टमका लागि धनगढी पठाएको जनाएको छ।

प्रतिक्रिया