‘ब्याचलर’ सांसदः जोडी नबाँधिएका यसपटकका सांसद !

कांग्रेसका ४ सांसद अविवाहित छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका २ र एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका १/१ छन् ती मध्ये ८ पुरूष छन् भने ३ महिला छन्


काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ । १६५ स्थानकै मतपरिणाम आइसकेको छ । यस क्रममा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जित हात पारेको छ भने नेकपा एमाले प्रत्यक्षतर्फ दोस्रो ठूलो दल बनेको छ ।

प्रत्यक्ष निर्वाचनबाट निर्वाचित १६५ मध्ये १५४ जना विवाहित उम्मेदवार निर्वाचित भएका छन् भने ११ जना अविवाहित उम्मेदवार निर्वाचित भएकाे निर्वाचन आयोगको रेकर्डमा उल्लेख गरिएको छ ।

आयोगको रेकर्डअनुसार अविवाहित रहेका यी ११ जना उम्मेदवार मध्ये नेपाली कांग्रेसबाट निर्वाचित चार जना रहेका छन् ।

प्रत्यक्षमा जम्मा ५७ सिटमा जित हात पारेको कांग्रेसका ४ जना अविवाहित उम्मेदवार विजयी भएका छन् ।

ती मध्ये सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन थकाली हुन् । २०५० सालमा जन्मिएका अविवाहित थकाली मुस्ताङबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । उनी अहिले २९ वर्षका भए ।

त्यस्तै अर्की हुन् सीता गुरुङ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसका तर्फबाट विजयी बनेकी एकमात्र महिला उम्मेदवार गुरुङ तेह्रथुमबाट निर्वाचित भएकी हुन् । २०३२ सालमा जन्मिएकी गुरुङ पनि अहिलेसम्म अविवाहित नै छन् । उनी ४७ वर्षकी भइन् ।

त्यस्तै नेपाली कांग्रेसबाट विजयी भएका रामहरि खतिवडा र किशोर सिंह राठौर पनि अविवाहित रहेका छन् । खतिवडा ओखलढुंगाबाट निर्वाचित भएका हुन् भने राठौर बाँके ३ बाट निर्वाचित भएका हुन् । उनीहरु दुवै जना २०२६ सालका हुन् । उनीहरुको उमेर ५३ वर्ष पुग्यो ।

त्यस्तै प्रत्यक्षमा ७ सिट हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसद अविवाहित रहेका छन् । राष्ट्रिय स्वतन्त्रबाट जित हात पारेका सोबिता गौतम र डा. तोसिमा कार्की अविवाहित रहेका छन् ।

काठमाडौं क्षेत्र नं. २ बाट जित हात पारेकी २७ वर्षीया सोबिता गौतम अविवाहित रहेकी छन् । उनी यसपटकको प्रतिनिधिसभाकी सबैभन्दा कान्छी सांसद पनि हुन् । उनी २०५२ सालमा जन्मिएकी हुन् ।

त्यस्तै ललितपुर–३ बाट विजयी भएकी डा. तोसिमा कार्की पनि अविवाहित नै हुन् । २०४६ सालमा जन्मिएकी डा. कार्की मेडिकल डाक्टर पनि हुन् ।

त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालेबाट निर्वाचित भएका सांसद मध्ये मकवानपुर–२ बाट निर्वाचित भएका महेश कुमार बर्तौला एकमात्र अविवाहित सांसद हुन् । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गरेका बर्तौला २०३९ सालमा जन्मिएका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट विजयी भएका अमनलाल मोदी पनि अविवाहित सांसद हुन् । उनी मोरङ जिल्ला क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन् । २०४२ सालमा जन्मिएका मोदीले नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधिसभामा जित हात पारेका हुन् ।

त्यस्तै २०२३ सालमा जन्मिएका नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला पनि अविवाहित रहेका छन् । सल्यानबाट प्रतिनिधिसभाका लागि विजयी भएका ज्वाला एकीकृत समाजवादीका १० सांसदमध्ये एक्ला अविवाहित सांसद हुन् । ५६ वर्षका उनी अविवाहित सांसदमध्ये सबैभन्दा जेठा सांसद हुन् ।

जुम्लाबाट प्रतिनिधिसभामा ठूलो मतान्तरसहित विजयी भएका ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाही पनि यसपटकको संसदका लागि अविवाहित अर्का अनुहार हुन् । २०४८ सालमा जन्मिएका उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विजयी बनेका हुन् । उनी ३१ वर्ष पुगेका छन् ।

त्यस्तै सर्लाही – ४ बाट निर्वचित डा. अमरेश कुमार सिंह पनि अविवाहित सांसद हुन् । नेपाली कांग्रेसका नेतासमेत रहेका सिंहले पछिल्लो समय पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा सर्लाही–४ बाट उम्मेदवारी दिएका थिए । ५२ वर्षीय सिंह २०२७ सालमा जन्मिएका हुन् ।

यसरी हेर्दा यस पटकको संसदमा जम्मा प्रत्यक्षबाट ११ जना अविवाहित सांसद रहेका छन् । ती मध्ये ८ जना पुरुष छन् भने ३ जना महिला सांसद रहेका छन् । दलहरूले समानुपातिक सांसदको टुंगो लगाइसकेका छैनन् । दलहरूको निर्णयपछि मात्रै आयोगले बन्दसूचीमा रहेका नामहरूमध्येबाट समानुपातिक सांसदको नाम प्रकाशित गर्ने जनाइएको छ ।

प्रतिक्रिया