अर्थमन्त्रीले एकैदिन उद्घाटन गरे बुटवलका तीन पुल


बुटवल – बुटवल उपमहानगरपालिकाभित्र रहेका तीन वटा ठूला पुलको आज उद्घाटन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बुटवलका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुलको एकैदिन उद्घाटन गरेका हुन्।

बुधबार तिनाउ नदीमा रहेको मगरघाटस्थित र देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गरिएको हो । साथै चौराहदेखि चिडियाखोलासम्मको सडक बिस्तारको काम पनि शुरु भएको छ।

डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरका अनुसार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा, देवीनगरस्थित हात्तीसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा र नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो।

२०७३ असार २९ गते निर्माण शुरु भएको मगरघाटस्थित तिनाउ पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो। कंक्रिट प्रि स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण गरेको हो। १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुलको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो।

त्यसैगरी, देवीनगरस्थित हात्तीसुँडमा रहेको तिनाउ पुलको निर्माणको जिम्मा लुम्बिनी अरनिकोले पाएको थियो। २०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो। ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यस पुलको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो।

यस्तै, २०६९ असार २४ गते निर्माण शुरु भएको नयाँगाउँस्थित दानव नदीको पुल २०७६ भदौ ३० गते मात्रै सम्पन्न भएको हो। स्थानीयको विवादका कारण लामो समय पुल निर्माण अलपत्र परेको थियो। ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो।

प्रतिक्रिया