समानुपातिकमा एमालेले कटायो साँढे २५ लाख मत, घण्टीलाई उछिन्दै माओवादी तेस्रो स्थानमा


काठमाडौं – मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको नतिजा आउनेक्रम जारी छ । जसमध्ये समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेले पहिलो स्थान कायमै राखेको छ ।

एमालेले २५ लाख ४१ हजार २१४ मत पाउँदा कांग्रेसले २४ लाख ४ हजार ६७७ मत पाएर दोस्रो स्थानमा पछ्याइरहेको छ । घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो । माओवादी केन्द्रले १० लाख ७१ हजार ४१७ मत पाउँदा घण्टीले १० लाख ६४ हजार ४३९ मत पाएको छ । यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार ९८६ मत पाएको छ ।

यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ । समाजवादीले जम्मा २ लाख ५३ हजार ५४० मत पाएको छ भने नेकपा एसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६६ हजार १२२ मत पाएको छ ।

यता नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार र लोसपाले १ लाख २७ हजार मत पाएका छन् ।

प्रतिक्रिया