डा. नारायण खड्काकाे क्षेत्रमा राेकिएको मतगणना सुरू गर्न आयोगको निर्देशन


काठमाडौं – नेपाली कांग्रेसका डा. नारायण खड्का उम्मेदवार रहेको उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

हिजोदेखि यो क्षेत्रमा मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना कार्य पुनस् सुरू गर्न निर्देशन दिएका छन्।

आयोगको निर्देशनपछि सर्वदलीय बैठक गरेर मतगणना पुनस् सुरू गर्ने तयारी छ। प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो।

यहाँ ६३ हजार ८० मत गणना गरिसकिएको छ। कांग्रेसका उम्मेदवार नारायण खड्का १ हजार ८ सय २५ मतान्तरले अग्रता लिइरहेको यस क्षेत्रमा नेकपा एमालेकी उम्‍मेदवार मन्जुकुमारी चौधरी पछि परेकी छन्।

यो क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। खड्काले अहिलेसम्म २७ हजार चार सय ८४ र चौधरीले २५ हजार ६ सय ५९ मत ल्याएका छन्।

प्रतिक्रिया