

नेपालमा भारतीय राजदूतले किन बढाउँदैछन् सक्रियता?

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अझैसम्म पनि आइसकेको छैन । अधिकांश क्षेत्रको प्रत्यक्षतर्फको नतिजा आएको छ भने केही क्षेत्रको परिणाम आउन बाँकी छ । त्यस्तै समानुपातिकतर्फको मतगणना पनि जारी छ ।
चुनावको अन्तिम परिणाम आइनसकेको भए पनि आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो बढ्न थालेको छ । अहिलेसम्मको परिणामअनुसार सत्ता गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउने देखिएको छ ।
यसैबीच भारतीय राजदूत नवीन श्रीवास्तवले सक्रियता बढाएका छन् । श्रीवास्तवले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
ती दुवै भेटमा राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने चुनावको अन्तिम परिणाम आइनसकेकाले यसै भन्न नसकिने भए पनि यही गठबन्धन अगाडि जाने जवाफ दिएका थिए ।
एक दिनअघि देउवालाई भेटेका श्रीवास्तवले शनिबनर प्रचण्डसँग भेट गरेका थिए । त्यस्तै आज (आइतबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले भेट्ने स्रोतले बताएको छ । चुनावको परिणाम आइनसक्दै भारतीय राजदूतले बढाएको सक्रियता र भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

