

तेह्रथुममा निर्वाचनको सम्पूर्ण तयारी पूरा

तेह्रथुम – तेह्रथुममा आइतवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।
तेह्रथुममा ५६ स्थायी र १ अस्थायी गरी जम्मा ५७ मतदानस्थल रहेका छन् । ९३ स्थायी र एउटा अस्थायी केन्द्र रहेको छ । ७ महिलासहित जम्मा ९४ मतदान अधिकृत निर्वाचनमा खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान प्रक्रिया सम्पन्न गर्न जिल्लामा खटिएकामध्ये २० जना सहायक मतदान अधिकृत महिला छन् । तेह्रथुमका लागि महिला २३२ र पुरुष ५१५ गरी जम्मा ७४७ कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी निराज शर्माले जानकारी दिए ।
म्याङलुङ नगरपालिकामा १० मतदानस्थलमा १९ केन्द्र, लालीगुराँस नगरपालिकामा ९ मतदानस्थलमा १८ केन्द्र, मेन्छ्यायेम गाउँपालिकामा ६ मतदानस्थलमा ८ केन्द्र, फेदाप गाउँपालिकामा १० मतदानस्थलमा १६ केन्द्र, छथर गाउँपालिकामा ८ मतदानस्थलमा १५ मतदान केन्द्र र आठराई गाउँपालिकामा १३ मतदानस्थलमा १७ वटा मतदान केन्द्र छन् ।

