निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त


काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ ।

निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालित छन् ।

३ सुरक्षा निकायका १ लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै १ लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ । मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर ३ सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् । आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न ३ वटै सुरक्षा निकाय सक्रिय छ । सुरक्षा निकाय तल्लीनसाथ लागेको छ ।

निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रूपमा काम गरिरहेको छ । त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा ९ जनाको समूह छ । सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ ।

‘समग्रमा यसपालिको निर्वाचनको सुरक्षा योजना राम्रो र भरपर्दो छ, ढुक्कसँग मत दिने वातावरण छ,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने ।

उनका अनुसार यसपटक २८ साना समूहले चुनाव बहिष्कार गर्छौ भनेका छन् । ती समूहको सूक्ष्म निगरानी भइरहेको छ । ‘उनीहरूको समूह ठूलो छैन तर पनि त्यसको हामीले हरेक कोणबाट निगरानी गर्ने र उसका गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेका छौं,’ उनले भने ।

प्रतिक्रिया