चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने


काठमाडाैं – भक्तपुरको चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव पूर्ति गर्न अनुदान शिक्षक दिन लागेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमबाटै पारित गरी ८० लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अनुदान शिक्षकको बन्दोबस्तीका लागि नगरपालिकाको असोज १३ गतेको बैठकले शिक्षक शिक्षण सहायता अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको नगरपालिकाले जनाएको छ ।

यो कार्यविधि अनुसार नगरपालिकाले माध्यमिक तह, आधारभूत तह र बालविकास तहका लागि छुट्टाछुट्टै आधार समेत तयार गरेको छ । अनुदान शिक्षकको बन्दोबस्त भएपछि सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुग्ने नगरपालिकाको दाबी छ ।

नगरपालिकाले यो अनुदान शिक्षकको बन्दोबस्त गर्नका लागि सुरुमा विद्यालय छनोट गर्ने र विद्यालयको आवश्यकता अनुसार विषयको शिक्षकको पद खुला प्रतियोगितामार्फत् छनोट गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाभित्र ३४ वटा सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया