


शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक बिदा

काठमाडौं – सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली कात्तिक १ गते सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमबार एक विज्ञप्ति जारी गरी मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
वाङमय विधाका महारथी, संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको हो । वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका जोशीको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।

