

चुनावी घोषणापत्रलाई अन्तिम रुप दिँदै एमाले

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओली घोषणापत्रलाई अन्तिम रुप दिन जुटेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप दिन जुटेका हुन् ।
समाजिक सञ्जालमार्फत ओलीले घोषणापत्रका सन्दर्भमा आएका सुझावलाई समेटिने बताएका छन् । ‘आउँदो चुनावका लागि घोषणा पत्रमा राख्न तपाईंले पठाएको सुझावहरु हेर्न तिर लागियो’, ओलीले ट्वीटरमार्फत भनेका छन् ।
एमालेले विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर चुनावी घोषणापत्र बनाइरहेको जनाइएको छ। एमालेले स्थायी सरकार, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुरु गरेका तर अधुरा योजनाको निरन्तरता तथा राष्ट्र र राष्ट्रियताका पक्षमा गरेका कामलाई घोषणापत्रमा महत्वका साथ स्थान दिएको छ।
एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष ओलीको संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको छ। समितिका सदस्यमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।

