

डडेलधुरामा कांग्रेस बीपीसँग एमालेले तालमेल नगर्ने, देउवाविरुद्ध आफ्नै उम्मेदवार लडाउने

काठमाडौँ- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह क्षेत्र डडेलधुरामा नेकपा एमालेले आफ्नै उम्मेदवार उठाउने भएको छ। यसअघि कांग्रेस (बीपी)लाई समर्थन गरेको एमालेले चुनावी तालमेल भंग गरेको हो।
एमालेले यसअघि कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई समर्थन जनाउने बताएको थियो। आफूहरूसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भंग भएको घोषणा गरेको हो ।
डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको ‘क’ र ‘ख’ दुवैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो।
त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएको थियो। डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही छैनन्।

