


मधेश प्रदेश : मुख्यमन्त्री राउतले बर्खास्त गर्नुअघि नै राजीनामा दिने तयारीमा गठबन्धनका मन्त्रीहरू

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको छ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र शाहले केन्द्र सरकारबाट जसपाका मन्त्रीहरू हटाएपछि मधेश मुख्यमन्त्री लालबाबु राउतले अन्य दलका मन्त्री हटाउनेबारे पार्टी नेतृत्वसँग सल्लाह गरिरहेको जानकारी दिए । तर यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) का मन्त्रीले भने बर्खास्त हुनुभन्दा पहिले नै राजीनामा दिने तयारी गरेका छन्। ‘हामी आफै हट्ने तयारीमा छौँ। छलफल चलिरहेको छ।’ माओवादीनिकट एक नेताले भने।
मधेश प्रदेश सरकारमा कांग्रेसबाट रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह, रुवी कर्ण, नेकपा एकीकृत समाजवादीका शत्रूधन महतो र प्रमोदकुमार यादव मन्त्रीरराज्यमन्त्री छन्।

