सार्वजनिक बस चढ्दा अनिवार्य ‘फेस सिल्ड’


काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने जनाएको छ । सार्वजनिक यातायात चढ्नु अघि प्रत्येक यात्रुले आफैंले व्यवस्था गरेर फेस सिल्ड लगाउनु पर्ने विभागले जनाएको हो ।

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् ।

यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए ।

‘यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन्, अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगानुपर्ने छ,’ उनले भने,‘यो व्यवस्थाले सार्वजनिक सवारीबाट महामारी फैलिने जोखिम कम हुनेछ ।’

उनले यात्रु आफैं आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने पनि बताए । बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्नेलगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने उनले बताए ।

प्रतिक्रिया