

त्यसो भयो भने प्रचण्ड त उदाउनेछन्, माधव नेपालसहित कस–कसको राजनीति सखाप हुनेछ?

काठमाडौं– नेपाल कम्युनिस्ट पाटीं (नेकपा) र सूर्य चुनाव चिन्ह कसको भन्ने मूल विवाद अहिले कायम रहेको छ। पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह र प्रधानमन्त्री ओली समूहका आफ्ना दाबी छन्।
तर एउटा सानो मुद्दाका कारण यी दुवै पक्षका दाबीलाई सर्वोच्च अदालतले खारेज गरिदिन सक्छ र योसँगै केही नेताको राजनीति नै सखाप हुने देखिन्छ।
के भयो भने कस–कसको राजनीतिक जीवन धराप हुनेछ?
राष्ट्रिय सभाको बैठकमा नेता बामदेव गौतमले उठाएको प्रसङ्ग महत्वपूर्ण थियो। प्रतिनिधि सभा विघटनको मुद्दासँगै सर्वोच्च अदालतमा अहिले नेपाल कम्युनिस्ट पार्टीको आधिकारीकताको मुद्दा पनि पेशीमा हुन्छ। तर, त्यसलाई हेर्न नभ्याइनेमा अदालतले सार्दै आएको छ।
निर्वाचन आयोगसमेतलाई विपक्षी बनाई ऋषिराम कट्टेलले नेकपाको आधिकारिकता आफ्नो भएको भन्दै मुद्दा दर्ता गरेका थिए। नेकपा पार्टी एकीकरणपछि चुनावमा गईनसकेको अवस्थामा सर्वोच्चले उक्त मुद्दा हेर्न नभ्याइने भन्दै सार्दै आएको छ।
यहि मेसोमा पार्टी विवादबारे गौतमले भनेका थिए,‘त्यो आधिकारिकताको फैसला कट्टेलका पक्षमा भए एमाले र माओवादी भन्ने दुई पार्टी पनि कित्ताकाट हुनेछन्।’
निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता भएको अवस्थामा नै छ। कट्टेलले न्याय पाएको खण्डमा नेकपाको एकीकरण अवैध हुनेछ। त्यसपछि एमाले र माओवादी दुई दलमा विभक्त हुनेछन्।
निर्वाचन आयोगले तत्कालिन एमालेको नवौं महाधिवेशनमा निर्वाचित केपी शर्मा ओलीलाई अध्यक्ष मान्नुपर्ने अवस्था आउँछ। त्यसपछि विभक्त भई पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका पूर्वएमाले नेताको राजनीति सखाप हुने स्पष्ट देखिएको छ।
‘यो सम्भावित अवस्था रहेका कारणले नै नेता नेपालले आफूलाई आधिकारिक र सूर्य चिन्ह आफूले नै पाएको भन्दै दाबी गर्दै आइरहेका छन्’, उच्च स्रोतले भन्यो,‘सर्वोच्च अदालतको फैसला कट्टेलका पक्षमा आयो भने नेपाललगायत उनका पछि लागेका सबैको राजनीतिक भविष्य धरापमा हुनेछ, प्रचण्डलाई त्यसले असर गर्दैन।’
प्रचण्डले नेकपा माओवादी केन्द्रको नेतृत्व गरेका कारण संवैधानिक रुपमा उनलाई उक्त पार्टीको नेतृत्वमा रहन नैतिक अवसर हुनेछ। तर, नेपाललगायतका नेता माओवादी केन्द्रको छातामुनी बस्छन् या बस्दैनन् भन्ने नैतिक प्रश्न अवश्य हुने देखिन्छ।
‘बामदेव गौतम अहिले तटस्थ बस्नुको कारण पनि यहि हो। त्यस्तो निर्णय आयो भने गौतम एमालेतिर नै लाग्नेछन्’, उच्च स्रोतले भन्यो,‘हिजो महाधिवेशनमा ओलीलाई सघाएका कारण उनलाई एमालेको छातामा जान कुनै नैतिक असर हुने देखिँदैन।’
तर नेपाल, खनालसहित एमाले पार्टी निर्माणमा प्रभावकारी भूमिका निभाएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायतको पनि राजनीतिक भविष्यमा प्रश्न उठ्ने स्पष्ट देखिने प्रक्षेपण गरिएको छ।
‘प्रतिनिधि सभा विघटनको एउटा पक्ष होला तर अर्को पक्षचाहिँ पार्टीको आधिकारिकता छ। जसलाई मुख्य र नैतिक प्रश्नका रुपमा हेरिएको छ। यसै कारण पनि चुनाव चिन्ह प्रमुख विषय बनेको हो’, नेकपाका एक केन्द्रीय सदस्यले भने,‘यसैले पनि नेताहरूले चुनाव चिन्हका विषयमा निर्वाचन आयोगलाई सम्झाउने, दबाब दिनेलगायतका काम गरिरहेका छन्।’

