

गठबन्धनमा भद्रगोल : सर्लाही २ मा महतो र यादव को हुन् साझा उम्मेदवार?

काठमाडौँ- आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको छ । यस क्रममा सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेर उम्मेदवारी दिएको छ भने नेकपा एमालेले पनि जसपा, राप्रपा लगायतका दलसँग विभिन्न निर्वाचन क्षेत्रमा तालमेल गरेको छ ।
सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चा आवद्ध छन् । माओवादी केन्द्रकै चुनावचिह्न लिएर डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि केही सिटमा चुनावी मैदानमा उत्रिएको छ ।
यसैक्रममा नेपाल समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री महिन्द्र राय यादवले माओवादी केन्द्रकै चुनाव चिह्न लिएर सर्लाही–२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट तत्कालीन राजपा नेपालका उम्मेदवार बनेर निर्वाचित भएका थिए । माओवादी केन्द्रको कोटाबाट उम्मेदवार बनेका कारण यो पटक स्वाभाविक रुपमा उनी गठबन्धनको हिस्सा बनेका छन् ।
सर्लाही–२ बाटै सत्तारुढ गठबन्धनकै घटक लोसपा नेपालका नेता राजेन्द्र महतोले पनि उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा धनुषा–३ बाट विजयी भएका थिए । तर यस पटक उनी सर्लाही–२ बाट उम्मेदवार बनेका छन् ।
धनुषा–३ मा भने गठबन्धनबाट लोसपाकै नेता अनिल झा उम्मेदवार बनेका छन् । लोसपाका नेता महतोले धनुषा–३ छाडेपछि लोसपाकै अर्का नेता अनिल झाले सो क्षेत्रमा उम्मेदवारी दिएका हुन् ।
सत्तारुढ गठबन्धनमै आवद्ध रहेका दुई दलका नेता एकै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेपछि गठबन्धनभित्र सकसको अवस्था देखिएको छ । सर्लाही–२ मा उम्मेदवारी दिएका महतो र यादवमध्ये गठबन्धनको उम्मेदवार कसलाई मान्ने भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।

