
सशस्त्र प्रहरी दिवसमा विभिन्न अधिकृत एवं कर्मचारी सम्मानित
काठमाडौं – सशस्त्र प्रहरी बलले ‘२०औं सशस्त्र प्रहरी दिवस २०७७’ विशेष समारोहमा सरिक भइ यस वर्ष उत्कृष्ठ घोषितहरूलाइ सम्मानित गरेको छ ।
नेपाल प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समाराेहमा सशस्त्र प्रहरीद्वारा हरेक वर्ष घोषणा गरिने उत्कृष्ठ बाहिनीलगायत विभिन्न अधिकृत र एक जना जवानलाइ सम्मानित गरिएको थियो । सम्मानित हुनेमा यस वर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशिराज दाहाललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे । त्यस्तै अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक धनबहादुर थापालाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिम ढाका म्याराथन–२०२१ मा साउथ एशियन क्याटागोरीमा महिलातर्फ स्वर्ण पदक हासिल गर्न सफल नेपाल एपीएफ क्लबकी धावक सशस्त्र प्रहरी परिचर पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

उक्त विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७७’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार ओमबहादुर सलामीलाई ‘वर्ष जवान’को ट्याग प्रदान गरेका थिए ।
यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्तव्य पालनाको सिलसिलामा घाइते तथा अंगभंग भएका ५ जना राष्ट्रसेवकलाई चारपाङ्ग्रे अपाङ्गमैत्री स्कूटर साँचो प्रदान गरेका थिए ।

त्यस्तै खनालले सोही अवसरमा देशभरका सशस्त्र प्रहरी एकाईमा कार्यरत अधिकृत, जुनियर अधिकृत, बिल्लादार, जवान तथा कार्यालय सहयोगीहरू मध्येबाट बर्षभरि विभिन्न जिम्मेवारीमा खटिएर उत्कृष्ट कार्य गर्ने ५७ जना राष्ट्रसेवकहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका थिए । त्यस्तै सेवानिबृत्त सशस्त्र प्रहरी परिचर सुवर्णध्वज ज्ञवालीलाई सेवाकालिन योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रकाशित ‘सशस्त्र प्रहरी बल, नेपाल’ सचित्र पुस्तक लोकार्पण गरेका थिए ।



कागजपत्र |
